ताजा खबर

Home » समाचार » कला » फिल्म

बुद्धिसागर-

'एउटा मोडमा पुगेपछि मानिस बितेका कुरा सम्झन्छ,' राजेश हमालले भने, 'वर्तमान बितेका कुराको प्रडक्ट हो।'

त्यही वर्तमानमा हामी काठमाडौंको जोरपाटीमा छौं, एउटा दुईतले घरको छतमा। जाडोको घाम मलिन हुँदै गएको छ। बेलाबेला राजेशको अनुहार पनि मलिन हुन्छ। उनी दिनभर दुलाहाको भेषमा छन्, चलचित्रका लागि। खरानी रंगको कोट-पाइन्टमा चिटिक्क परेका छन् तर अनुहारमा थकान देखिन्छ, जुन मेकअपले छोप्न सकेको छैन। अनुहारको त्वचा बिस्तारै माकुराको जालझैं झोल्लिदै गएजस्तो लाग्छ। कन्चटका रौं फुलिसकेका छन्।

पहिलो चलचित्र 'युगदेखि युगसम्म'मा 'ब्याचलर' युवकको भूमिकाबाट 'एउटा मान्छेको माया'को एनआरएन बिजनेस म्यानको भूमिकासम्म आइपुग्दा राजेशको नाममा दुई सय ५० भन्दा बढी चलचित्र छन्। यीमध्ये आधाको पनि नाम सम्भि्कन उनलाई गाह्रो पर्छ।

बन्दै गरेको फिल्म स्टुडियोमा दुलाहाको अभिनय गरेपछि, मिनरल वाटरका केही घुट्का पिएर राजेश जब छतमा उक्लिए, वरिपरिका छतछतबाट उनलाई नियाल्न खोज्नेको भीड बढ्यो।

'ओई, लादेथ हमाल।'

पल्लो घरको छतबाट आवाज आयो। राजेशले त्यतातिर हेरे। आमाको काखबाट एउटा बालक उनलाई हात हल्लाइरहेको थियो। खिस्स हास्दै राजेशले पनि हात हल्लाए। घरको तलतिरबाट पनि बच्चाहरू कराएको आवाज आयो। तलतिर स्कुले बच्चाहरू मुक्कामुक्की गर्दैथे। एउटा भन्थ्यो, 'राजेश हमाल नै हो।' अर्को भन्थ्यो, 'होइन।'
राजेशले देखे कि देखेनन्! खुइय˜˜˜ सुस्केरा हाल्दै प्लास्टिकको कुर्सीमा बसे।

दैनिक १९ घन्टासम्म उफ्रदै, कराउँदै, रुँदै र गर्जंर्दै राजेशले नेपाली चलचित्रमा बीस वर्ष बिताएका छन्। राजेशको रवाफ उस्तै छ, र छ माग पनि। नयाँ निर्देशक हुन् या पुराना, तिनलाई 'राजेश हमाल' नै चाहिन्छ - एउटा गीतमा होस् कि एउटा फाइटमा, एकदुई दृश्यमा होस् कि पूरै चलचित्रमा। या त, केवल उनको एक गर्जन, 'हे˜˜˜' भएपनि पुग्छ।

अहिले पनि राजेश एकैसमय तीन चलचित्रमा व्यस्त छन्। रानीबारीमा उनी उसु गुरुको भूमिका गर्छन् भने चितवन पुगेर 'किसान'को। जोरपाटीमा एनआरएनको। राति अर्को फिल्मको डबिङ छ।

'म हरेक वर्ष १२-१३ चलचित्र खेल्छु,' राजेश भन्छन्, 'हेर्नलाई वास्तविकता पस्किएका फिल्म हेर्छु। खेल्दा एकदमै सपना पस्किएका फिल्म खेल्छु।'

अहिले राजेशलाई फिल्मको संक्षिप्त कथा सुनाए पुग्छ। उनी स्त्रि्कप्ट पढ्ने लठारो गर्दैनन्। कथा जे होस्, राजेशले गर्नुपर्ने अभिनय उस्तै त हो नि!

चलचित्रको यत्तिको व्यस्ततामा पनि राजेश म्युजिक भिडियो खेल्छन्, ब्रान्ड एम्बेसडर बन्छन्, क्विज चलाउँछन्। कहिलेकाहीँ बिहानको खाना दिउँसो ४ बजेतिर खान्छन्, त्यो पनि घरमै। राजेशको यत्ति धेरै व्यस्तताको फल हो, राजेश जता जान्छन्, त्यतै भीड बन्छ। राजेश आउनु हुरी आउनुजस्तो भइसकेको छ।

एकपल्ट नारायणघाटमा एउटा चलचित्रको सुटिङ हुँदाहुँदै अधिकांश कलाकारका आँखा पाकेछ। सुटिङ रोकियो। बल्लतल्ल तीनचार दिनमा आँखा ठिक भएपछि भोलिपल्ट देखि सुटिङ सुरु हुने घोषणा भो। केही कलाकार साँझपख नारायणी नदीको किनारमा ताजा हावा खान निस्किए। एक्कासी तिनले देखे, पुलमा त थामिनसक्नुको जुलुस छ। 'लौ जुलुस आयो। अब तनाव हुन्छ। भोलि सुटिङ गर्न सकिँदैन कि क्या हो' भन्दै अत्तालिएर एकदुई जना कुरा बुझ्न पुलतिर दगुरे।

त्यहाँ पुग्दा उनीहरूले देखे - जुलुसको अघिअघि हिँडिरहेका थिए, राजेश हमाल।

राजेशले के मोहनी लगाए, जुन कहिल्यै टुट्दैन - कसैलाई थाहा छैन। राजेश आफैलाई पनि थाहा छैन, दर्शक किन उनलाई यत्ति धेरै माया गर्छन्। उनको एक झलक हेर्न मरिहत्ते गर्छन्।

दर्शकको यत्ति धेरै प्रेम देखेर राजेश सुनाउँछन्, 'तिमी मलाई जति प्रेम गर्छौ, म त्यसको लायक छैन। र, जति घृणा गर्छौ, त्यति घृणित पनि छैन।'

राजेशलाई घरमा पुर्‍याइदिन हिँडेको फिल्म सुटिङको ब्यानर टाँगिएको गाडी बौद्ध पुगेपछि जाममा पर्‍यो। त्यही जामको मौका पारेर एकजना भरिया दगुर्दै गाडीको सिसामा अनुहार जोत्न आइपुगे। बलगरी भित्र हेर्न खोज्दा सिसामा टाँसिएर उनको नाक थेप्चियो। उनले आँखा नचाउँदै राजेशलाई हेरिरहे। गाडी गुड्यो, ती भरिया हात झट्कार्दै खुसीले दगुरे।

यसरी कसैको खुसीको 'कारण' बन्न स्वयं राजेशले भने कैयौं खुसी गुमाउनुपर्‍यो। चलचित्र क्षेत्रमा प्रवेश गर्नेबित्तिकै उनको पहिलो खुसी गुम्यो। उनले पहिलोपल्ट अभिनयका लागि मौका पाएको चलचित्र 'भाग्यरेखा' तीनचार दिन सुटिङ गरेपछि छाड्नुपर्‍यो।

राजेश भन्छन्, 'त्यो बेला सबै मिलेर मलाई फिल्मबाट निकालेका हुन्।'
...

०४३ सालको कुनै दिन। राजेशका बा चुडाबहादुर अखबार पढिरहेका थिए। राजेशलाई केही भन्नु थियो, त्यसैले बाछेउ पुगे।
'म मोडलिङ गर्न चाहन्छु,' राजेशले भने, 'भोलि पत्रिकाको मान्छेसित तपाईंलाई भेटाउँछु।'
बा केही बोलेनन्।
राजेशलाई इन्डियन पत्रिका 'फ्यासनेट'को आवरणका लागि अफर आएको थियो। उनी बाको सहमति चाहन्थे। भोलिपल्ट पत्रिकाका तर्फबाट अमिरराज पाल कुरा गर्न आए।
'राजेश मोडलिङका लागि ठिक छ,' पालले सुनाए।

'खोई,' बाले भने, 'हाम्रो पुर्खामा कसैले नगरेको काम गर्न ला'छ।'

स्विकृति हो कि होइन, राजेशले थाहा पाएनन्। जे होस्, पत्रिकाको आवरणमा कमिज र जिन्समा सजिएका राजेशको फोटो छापियो। अनि पो, किशोरकालमा रस्सामा हेरेका युद्ध चलचित्रको प्रभावले उनलाई छोप्दै लग्यो। 'एकदिन म फिल्ममा खेल्छु' भन्ने राजेशको सपना हरियो हँुदै गयो।

पन्जाब युनिभर्सिटीबाट अंग्रेजी साहित्यमा एमए गरेपछि राजेशले आफ्नो बाटो रोज्न पाउने भए। राजेश बाका प्रिय थिए। हुर्किसक्दा पनि स्नेहको कमी भएन। मानसिक रूपमा मात्र नभएर शारीरिक रूपमा पनि बा प्रेम देखाउँथे। बाको यस्तो प्रेम पाएर राजेश पनि हुरुक्कै थिए।

०४५ साल। राजेश बासँगै नेपाल फर्किए। काठमाडौंमा इन्डियन एम्बेसीले आयोजना गरेको फेयरवेल प्रोग्राममा फेसन सो हुने भो। अठारबीस जना महिलासँगै राजेश र्‍याम्पमा हिँडे। त्यही र्‍याम्पमा राजेशलाई देखेर मामा दीपक रायमाझीले चलचित्र 'भाग्यरेखा'मा अफर गरे।

बाले मान्ने कुरा भएन, राजेशले आफ्नो निर्णय लिए।

त्यसताका अहिलेजस्तो नेपाली सिनेमा बन्दैनथे, व्यावसायिकता पनि थिएन। त्यसैले छोरो इन्जिनियर बनोस्, ठान्ने बा २४ वर्षे छोराको निर्णयले निरास भए।

भाग्यरेखाको छायांकन सुरु भो। नायिका थिइन्, कृष्टि मैनाली। पहिलो दिन राजेश कसैसँग बोलेनन्। चलचित्रक्षेत्रमा राजेश 'एलियन'जस्तै थिए। दोस्रो दिन उनलाई लाग्यो, कृष्टिसँग मेरो केमेस्ट्री मिल्छ। तेस्रो दिनदेखि मित्रता सुरु भो, व्यावसायिक। राजेश र कृष्टि एकान्तमा बसेर संवादको रिहर्सल गर्थे।

'पहिला कसैसँग बोल्दैनथ्यो। अहिले हिरोइनको नजिक भा'छ,' सुटिङमा हल्ला चल्दै गयो। अनि त राजेशका आँखामा रिफ्लेक्टरको कडा प्रकास फ्याँक्न थालियो। जसले गर्दा सधैं आँसु बग्न थाले।

'तिम्रो आँखाबाट धेरै आँसु आयो,' राजेशलाई भनियो, 'फिल्ममा सुहाएन।'

अचानक यस्तो प्रतिक्रिया पाएर राजेश छक्क परे। 'ठिक छ... यो फिल्म मेरो भागमा छैन। उमेर छ, जोस छ, अर्को पाइहालूँला।' राजेशले यसरी चित्त बुझाए। एकछिन पछि राजेशले अर्को कुरा थाहा पाए - उनीसँगै नायिका कृष्टि पनि निकालिँदैछन्।

'मेरो त पहिलो फिल्म हो। मलाई असर पर्दैन,' राजेशले आग्रह गरे, 'कृष्टि धेरै दुख्ख गरेर यहाँसम्म आइपुगेकी हुन्। तिनलाई ननिकाल।'

आखिर राजेशको कुरा कसैले सुनेन। उनी इन्डिया गए। दुईअढाई वर्ष उतै बसे। संयोगबस, 'भाग्यरेखा'कै टिमले नयाँ चलचित्र बनाउने भएछ - युगदेखि युगसम्म। चलचित्रका तर्फबाट काशी श्रेष्ठ र छवि ओझाले राजेशलाई हिरोका लागि आग्रह गरे। निर्देशक रैछन्, उही दिपक रायमाझी। नायिका उही कृष्टि।

राजेशले 'हुन्छ' भने।

बहुदल आएको तेस्रो दिन सुटिङ सुरु भो। धेरै पछि, बाले थाहा पाए - छोरो त हिरो पो भइसकेछ! बाबुछोराको संवाद बिस्तारै छोटो-छोटो हुँदै गयो। उता चलचित्रको छायांकन सकियो, यता बाबुछोराको बोलचाल बन्द।

आठ महिना बित्यो।

एकदिन एकजनाले राजेशलाई सुनाए, 'लगनखेलमा तपाईंको ठूलो 'कट्आउट' पोस्टर टाँगेको छ।'

राजेश हतारिँदै हेर्न गए। आफ्नो 'ठूलो' पोस्टर देखेर राजेश अचम्ममा परे। त्यही पोस्टर देखेर कैयौं यात्रु पनि टक्क अडिन्थे। 'हेर्दा मिथुनजस्तो छ... नयाँ खत्रा हिरो आएजस्तो छ।' यस्तो चर्चा सुरु भो।

राजेशका केही स्वदेशी-विदेशी मित्रहरूले पोस्टर देखेछन्। तिनले भने, 'फिल्म राम्रो बनेजस्तो छ... हामी हेर्छौं।'

तर, घरमा भने त्यति उत्साह थिएन। बाआमाले कुनै वास्ता गरेनन्।

प्रतिक्षा सकियो। न्युरोडको रन्जना हलमा चलचित्रको प्रिमियर हुने भो। राजेश एकदुई साथीसँग गए। हलभित्र सबै बत्ती निभे। कास्टिङ सुरु भो। नयाँ प्रस्तुति - राजेश। राजेश हिरोइन जिस्काउने खलपात्रहरूलाई मुक्का हान्न हुडविहीन जिपबाट उफ्रिदै आए।
ताली र सिटी बज्यो।
तर, राजेश भने अँध्यारो कोठामा चुपचाप बसिरहे। किनभने, उनको सपनाको पहिलो खुट्किलो हेर्न घरबाट कोही आएनन्।

'म यसरी नै एडजस्ट हुनुपर्छ,' राजेशले त्यही अँध्यारो कोठामा सोचे, 'सुख्खमा म एक्लै हास्नुपर्छ। दुख्खमा म एक्लै रुनुपर्छ।'

चलचित्र बेस्मारी चल्यो। 'दुई दिनको जीवन मस्तीमा बिताऊँ' भन्दै नाच्ने, झलक्क हेर्दा मिथुनजस्तै लाग्ने राजेश धेरैका प्रिय नायक भइसकेका थिए। केही समयको विश्रामपछि, उनलाई अर्को चलचित्रको प्रस्ताव आयो। निर्देशक प्रकाश थापाको 'अधिकार'। त्यसपछि, 'कसम।'

छोरासँग 'कट्टी' गरेका बा राजदुत भएर पाकिस्तान गए। राजेश भने नेपालका डाँडाभीरतिर। प्रजातन्त्र आएकाले पनि होला धेरै चलचित्र बन्न थाले। बिस्तारै राजेश व्यस्त हुँदै गए।

'कलाकार भएर जीविकोपार्जन गर्न गाह्रो हुन्छ भनेर नै बा रिसाउनुभएको हो। एकदिन उहाँले मेरो रुचिलाई सपोर्ट गर्नुहुनेछ,' राजेशले यस्तो सोच्न थाले।

एकदिन सुटिङ थिएन। बिहान उठ्नेबित्तिकै किन-किन राजेशलाई पशुपति जाऊँ-जाऊँ लाग्न थाल्यो। उनले एकजना साथीलाई फोन गरे, 'आज पशुपति जाऊँजस्तो लागेको छ, जाने हो?'

साथी पनि जाने भए। पशुपतिलाई एकफन्का लगाएर फर्किंदा गौशालाचोक पुगेपछि, राजेशले थाहा पाए - पाकिस्तानी राष्ट्रपतिलाई भेटेर फर्किंदा गाडीमै बालाई हर्ट अट्याक भएछ।

राजेशले आफ्नो परिवारमा यस्ता घटना भोगेका थिएनन्। पहिलोपल्ट भोगे, त्यो पनि बाको। जोसँग बोलचाल पनि थिएन। राजेशलाई त्यो जीवनको पहिलो 'सक' थियो। राजेश सफल भएर जसलाई देखाउन चाहन्थे अब उनी थिएनन्।

बाको झझल्कोबाट मुक्त हुन राजेश झन्् व्यस्त भए। उनले आफूलाई त सम्हाले तर आमाले सकिनन्।

'गोपीकृष्ण' फिल्मको सुटिङ भारतमा थियो। फर्कंदा भैरहवा भएर आउनुपर्थ्यो। भैरहवा बोर्डरमा राजेशले देखे - फूलमाला लिएर उभिएका नेपालीहरूको ठूलो जमात।

ती त राजेशको स्वागत गर्न उभिएका रैछन्। तिनले राजेशलाई काँधमा बोके। नारा लगाए। 'मलाई दर्शकले यत्ति धेरै माया गर्छन्' भनेर राजेशले त्यही दिन थाहा पाए। उनको 'हौसला बुलन्द' भो।

उनले त्यही दिन निर्णय गरे, 'म अब नेपाली फिल्मलाइन छाडेर कहीँ जान्नँ।'

राजेशको व्यस्तताले 'हद' नाघ्यो। एक्लोपनले आमालाई झन् न्याक्न थाल्यो। बा नभएपछि आमाको एउटा सर्कल स्वात्तै घट्यो। बिस्तारै आमा 'डिप्रेसन'मा गइन्।

'देउता'को प्रिमियर थियो, रसियन कल्चर सेन्टरमा। तत्कालीन भारतीय र पाकिस्तानी राजदुत पनि आउने भए। आमा यस्तो 'कुटनीतिक माहोल'मा सामेल नभएको धेरै भइसकेको थियो। त्यसैले राजेशले आमालाई लगे।

चलचित्र राम्रो भएकोमा धेरैले प्रशंसा गरे तर राजेशलाई त आमाको कुरा सुन्नु थियो। किनकि, आमाले पहिलोपल्ट उनको फिल्म हेरेकी थिइन्।

'राम्रो गरेछौ,' प्रसन्न मुद्रामा आमाले भनिन्।

त्यसपछि राजेशको आत्मबल झन् बढ्यो। उनले सोचे - म जे गर्दैछु, राम्रै गर्दैछु।

बा गएपछि राजेशलाई लाग्थ्यो, आमा त छन् नि! आमालाई पनि राजेशकै चिन्ता थियो। 'रातदिन एक गरेर यति धेरै काम नगर,' आमा भनिरहन्थिन्। तर, ०५९ सालको एकदिन आमा पनि गइन्।

राजेश एक्लो भए।

'आमा त चंगाको लट्टाई हुनुहुन्थ्यो,' राजेशलाई लाग्यो, 'अब मेरो जीवन लट्टाईबिनाको चंगा हुन्छ।'

तैपनि राजेश बाको मृत्युमाझैं 'सक' भएनन्। किनकि राजेशलाई थाहा थियो - आमाले आफ्नो जीवन भार मानिरहेकी थिइन्।
आमा गएपछि राजेशलाई यस्तो लाग्यो - पिजडामा कुजिँएको पन्छीले मुक्ति पाएजस्तो।
...


अहिले राजेश गैह्रीधाराको एकतले घरमा बस्छन्। खरानीरंगको घरको आँगनमा केही फूल छन्। एकान्त पनि छ। राजेश कोलम्बियन कफीको चुस्की लिएपछि मुस्कुराउँदै भन्छन्, 'म एकान्तमा बोर हुँदिनँ।' हरेकपल्ट खाना खाइसकेपछि, एक कप कफी पिउने बानी लागेका राजेशको जीवनमा 'फेबरेट' भन्नु केही पनि छैन।

'फेबरेट बनाउनु भनेको आफूलाई बाँध्नु हो,' उनी फेरि मुस्कुराउँछन्।

उनका रुचि पनि धेरै छैनन्। कहिलेकाहीँ 'झट्का' पर्‍यो भने कविता लेख्छन्। अरू कविजस्तो लेखेको लेख्यै गर्न सक्दैनन् रे!

'कविता नै लेखाउने खाले 'झट्का' कति पर्छन्?' मैले सोधेँ।

'म कामना गर्छु,' उनले हात जोडे, 'यस्ता झट्का धेरै नपरून्।'

राजेशले अंग्रेजी साहित्य पढेकै कारण पनि उनलाई लेखनसम्बन्धी प्रश्न गर्ने मेरो हक छ। धेरैले उनलाई बौद्धिक भन्छन्। एमए पास गर्दैमा 'बौद्धिक' भइन्छ कि भइँदैन? राजेश स्वयंलाई बौद्धिकता भनेको के लाग्छ?

'म आफूले आफूलाई कसरी नापूँ?' उनले एकछिन सोचे, 'बौद्धिकता भनेको अतृप्ति हो। अल्लारे हुँदा लाग्थ्यो, सबै कुरा जानिसकेँ। अहिले जति बुझ्दै गयो उति आफूमा अज्ञानता पाउँदैछु।'
यस्तै उतारचढावलाई कुनै दिन उनी अटोबायोग्राफीमा लेख्नेछन्। तैपनि राजेशलाई लाग्छ, जीवनमा कैयौं अध्याय थपिन बाँकी छन्।

उनले भने, 'केही अगाडि हेर्ने र केही पछाडि थप्ने बिन्दुमा छु।'

अटोबायोग्राफीकै शैलीमा राजेशको जीवनलाई हेर्ने हो भने सुरुवातका अध्यायमा उनका धेरै 'मिस्टेक' देखिनेछन्।

'अरूलाई हानी पुग्ने मिस्टेक हैन, आफैलाई हानी पुग्ने मिस्टेक धेर छन्,' राजेश थप्छन्, 'परिवारलाई हानी पुग्ने पनि मिस्टेक छन्। जसले मलाई जीवनकालभरि घोचिरहनेछ।'

यदि तीसको दसकको 'राजेश हमाल'लाई अहिलेका राजेश हमालले फर्किएर हेर्ने हो भने नचिन्न सक्छन्। राजेशलाई पनि लाग्छ, 'त्यसबेलाको राजेश हमाल अहिले मेरा लागि स्टे्रन्जरजस्तो छ।'

जति संगत गरेपनि राजेशलाई बुझेँ भन्ने कोही 'माइकेलाल' छैन। किनभने, स्वयं राजेशले पनि आफूलाई बुझेका छैनन्।

'म हरदम आफूलाई बुझ्न खोज्छु,' राजेश पश्चिमतिर हेर्दै टोलाउँछन्, 'आफैले आफैलाई बुझ्न एकदमै गाह्रो हुन्छ।'

तर, राजेशले यत्ति त बुझेका छन्, 'म सन्त होइन।'

कुनै जमानामा राजेश 'मस्त मौला' नै थिए। अराजक पनि। उनी सुन्थे - जीवन अनुशासित बनाउन धेरै चिज त्याग्नुपर्छ।

'जीवनमा प्राप्त भएका कुरा उपयोग गर्नुपर्छ,' राजेश ठान्थे, 'तर, त्यसको आदी हुनुहुँदैन।'
अहिले राजेशलाई उमेर र अनुभवले धेरै कुरा सिकाएका छन्। उनी भन्छन्, 'अनुभव नगरेको कुरा त्याग्नुलाई 'त्याग' भन्न मिल्दैन। त्यसलाई अनुभव गर्ने तिर्खा कुनै पनि क्षण जाग्न सक्छ।'

राजेशले अभिनय गरेका अधिकांश 'लभस्टोरी'को अन्त्य सुखद हुँदैन। आखिर फिल्मलाई पनि जीवनको 'रिफ्लेक्सन' मान्ने होे भने राजेशका कैयौं प्रेमकथा त्यस्तै लाग्न सक्छन्। के सफल नायक असफल प्रेमी हुन्?

'प्रेमको अनुभव भरपुर छ ममा,' खिस्स हाँसे, 'त्यै भएर होला... त्यति तिर्खा छैन।'

यदि प्रेमको मामलामा राजेश स्वयंलाई आफ्नो मूल्यांकन गर्न लगाउने हो भने उनले देखेको प्रेमी राजेश हमाल यस्तो हुनेछ - अर्कोबाट भरपुर प्रेमको अपेक्षा गर्ने तर आफूले दिन कन्जुसी गर्ने व्यक्ति।
'मैले अर्कोलाई जति प्रेम महसुस गराउनुपर्थ्यो, त्यसमा कमीकमजोरी भयो होला।' राजेशको गम्भीर मुद्रा, 'त्यो मामलामा म सेल्पि्कस पनि भएँ हुँला।'

अनि, राजेश आफ्नै शैलीमा दुवै आँखीभौं माथितिर धकेल्दै हाँसे, 'त्यै भएर होला... मलाई दुईचार युवतीले 'पत्थर दिल' पनि भनेका छन्।'

आफ्नो व्यक्तिगत समय 'चलचित्रवाला'सँग बिताउँदैनन्, उनी। आफ्नो खुसी आफैसँग 'सेलिब्रेट' गर्न सिकेका छन् राजेशले। पीडामा एक्लै रुन त कसले सिकाउनुपर्छ र?

यदि बिहे भइसकेको हुन्थ्यो भने यतिबेला राजेश छोराछोरीको करिअरको चिन्ता गर्ने भइसक्थे। एक्लो भएर नै होला, राजेश विभिन्न तरिकाले जीवन बुझ्ने तयारीमा छन्। पहिलेपहिले सडक बालकहरू लिएर घुम्थे, सँगै खान्थे। तर, 'कालबेला' परिवर्तन भएकाले धेरै भयो, राजेश त्यसरी बाहिर निस्केका छैनन्।

बरु एकान्तमा राजेश आफ्नै आत्माका प्रश्नहरूको उत्तरको खोजीमा हुन्छन् :
म को हुँ?
म किन छु?
म किन आएँ?
म कहाँ जान्छु?
जानु नै छ भने किन आएँ?

यसरी राजेश सामान्य मानिस भएर बाँच्न खोज्छन् तर 'सुपरस्टार'ले उनलाई छोप्छ। कहिलेकाहीँ आफन्तकोमा जाँदा पनि 'आफन्तका आफन्त'ले फोटो खिच्ने रुचि देखाउँछन् र उनी सामान्य मानिसबाट 'स्टार' भइहाल्छन्।

'सुरुमा म कसरी चिनियूँ भन्ने मनसाय हुन्छ रे,' राजेशले कतै सुनेका कुरा सुनाए, 'पछि त कसैले नचिनोस् भनेर अनुहार छोप्दै भì

Source: http://www.nagariknews.com/ent/movies/10011-2010-02-05-19-58-04.html

Daily.On.Tv

Wednesday, March 10, 2010
Grindhouse:Planet Terror
11:20 PM
Harry Potter and the Goblet of Fire
11:15 PM
Mega Engineering:Dome Over Houston
10:15 PM
Friends (Season 3)
09:15 PM
Living With a Superstar:Shah Rukh Khan
08:15 PM
 

Couldnot find Flash Player!!!
Install it.

Watch Sadak Sadak Ma Watch Srijana Ka Phool Haru
 

Photo Gallery

[ 13 ]