नवीन अर्याल, ढाका, माघ २४- नेपालले आधिकारिक रूपमा पटक-पटक विरोध जनाए पनि आयोजक बंगलादेशले एघारौं सागमा पुरानो नेपाली राष्ट्रिय गान 'श्रीमान् गम्भीर नेपालीलाई...' बजाउन छोडेको छैन।
पहिलो पल्ट झन्डोत्तोलन कार्यक्रम, त्यसपछि ब्याडमिन्टनको उद्घाटन समारोहमा पुरानो राष्ट्रिय गान बजाएर एघारौं सागमा समावेश हुन आएका नेपाली खेलाडी र पदाधिकारीलाई लज्जित बनाएको आयोजक बंगलादेशले शनिबार तेक्वान्दो हलमा पनि त्यही गल्तीलाई निरन्तरता दियो।
तेक्वान्दोको पहिलो सत्रको समाप्तिपछि स्थानीय समयअनुसार मध्यान्हको १२ बजेर ५५ मिनेट जाँदा तेक्वान्दो हलमा एक्कासी श्रीमान् गम्भीरको धून बज्न थालेको थियो।
खराब आयोजनाका कारण तेक्वान्दो हलमा पटक पटक बिजुली जाँदा नेपाली खेलाडीले सास्ती मात्र खेपेका थिएनन्, उनीहरूको खेल पनि प्रभावित बन्न पुगेको थियो। त्यसमा पनि नेपालको मरिसकेको राष्ट्रिय गान तेक्वान्दो हलमा घन्किँदा सबै अलमलमा परेका थिए। यस विषयमा आयोजक समितिले कुनै प्रतिक्रिया जनाएको छैन।
सम्बन्धित (2010-02-01)
Source: http://www.nagariknews.com/sports/international-sports/10053-2010-02-06-18-28-15.html